logo

के लेखे बाबुरामले बाली डायरीमा?

Mar 07, 2018

आज मातृभूमि नेपालबाट हजारौं माइल टाढा हिन्द र प्रशान्त महासागरको सीमामा अवस्थित प्राचीन सभ्यताको धनी टापू बालीमा उभिएर घोत्लिदा प्राप्त गरेका अनुभूतिहरू सबैसंग बाँड्ने अनुमति चाहन्छु।

एउटा मध्ययुगीन गाउँको गोठालोबाट देशको सर्वोच्च कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरिसकेको मान्छे ६४ बर्षको उमेरमा सबैथोक त्यागेर किन भौंतारिएको होला? के ऊ बौलाएकै हो? कि ऊ अमुक शक्तिको गोटी बनेर देश र जनतालाई धोका दिन उद्यत भएको हो?

वा ऊ आफ्ना समकालीन राजनीतिक नेताहरू ओली, प्रचण्ड, देउवा, उपेन्द्र, महन्त, गच्छदार, कमलहरूसंग सत्ता-शक्तिको खेलमा पराजित भए पछि नक्कली साधुको भेषमा जनतालाई ठग्न निस्केको हो? आदि आदि प्रश्नहरू व्यक्त अव्यक्त रूपमा उठ्न सक्छन्।

यी प्रश्नहरूको जवाफ कुनै दिन इतिहासले मात्र दिनसक्ने भएकाले अहिले म त्यता प्रवेश गर्न चाहन्न। आखिर इतिहासको फैसला सबैले एकदिन मान्न करैलाग्छ! म त्यसमा विश्वास गर्छु।

मेरो मनमा खेलिरहेका प्रश्नहरू अर्कै छन्!

पहिलो, विश्वस्तरबाट हेर्दा एक्काइसौं शताब्दीको प्रारम्भिक दशकसम्म आइपुग्दा मानव जाति अभूतपूर्व विकास र भयंकर विनाशको दोसाँधमा उभिएको प्रष्ट दृष्टिगोचर हुन्छ।

एकातिर आर्थिक-भौतिक विकास तथा विज्ञानप्रविधिको अकल्पनीय विकास-विस्तार र अर्कोतिर मानव मानव बीचको असमानताको खाडलको भयंकर विस्तार दुसाध्य अन्तरविरोध र संकटको रूपमा पाक्दै गैरहेको छ।

त्यसैको राजनीतिक अभिव्यक्तिको रूपमा अमेरिकामा ट्रम्प, चीनमा सी जिनपिंग, रूसमा पुटीन, भारतमा मोदी, नेपालमा ओलीहरूको अवतार भैरहेको छ। सबैले आआफ्नो देशलाई ‘ग्रेट’ ( महान् ) बनाउने सपना बाँडिरहेछन्!

तर ठूलो माछाले सानो माछा खाने वर्तमान नवउदारवादी पुँजीवादी प्रणाली कायम रहेसम्म सबैजना एकैचोटि ‘ग्रेट’ बन्ने सम्भावना हुँदैहुँदैन। zero-sum-game को आधारभूत नियमले त्यसो हुन दिंदैदिंदैन।

भलै केही केही अन्तर-राज्यीय र आन्तरिक-राज्यीय परोपकारी नीतिले केही समय मलहम लगाएर थामथुम पार्ने प्रयत्न गर्न सकिन्छ। अन्तत: त्यसले भयंकर द्वन्द र युद्धको स्थिति सिर्जना गर्छगर्छ।

आजभन्दा सय बर्ष अगाडि बिसौं शताब्दीको शुरूमा अर्थात् प्रथम विश्वयुद्धको पूर्वसन्ध्यामा करीब करीब स्थिति यस्तै थियो।त्यसको परिणाम दुइवटा विश्वदुद्ध भएर संसारले कति क्षति व्यहोर्नुपर्यो सबैलाई सम्झना छँदैछ!

यस्तो युगीन संकटको समाधान क्षणिक आवेगात्मक पपुलिज्मले हुनै सक्दैन। गम्भीर संरचनात्मक समस्याको समाधान वैचारिक-राजनीतिक ढंगले नै गर्नुपर्दछ। प्रथम विश्वयुद्धको वेलामा त्यस्तो पुँजीवादी साम्राज्यवादी समस्याको संकट लेनिनले सोभियत प्रणालीमा आधारित समाजवादी विचार र प्रणालीले दिने प्रयत्न गरेका थिए।

त्यसले केही समय काम पनि गर्यो। तर सर्वहारा अधिनायकत्वको नाउँमा प्रकारान्तरले कम्युनिष्ट पार्टी र त्यो भित्रको पनि सीमित व्यक्तिको अधिनायकत्वको रूपमा संचालित त्यो प्रणाली कालान्तरमा रोजा लक्जेम्बर्गहरूले शंका गरे झैं भीषण सर्वसत्ताबादमा पतन भएर विनास भएको इतिहास हामी सबैलाई थाहै छ!

त्यसैले वर्तमान विश्वको संरचनात्मक संकट न त पुरानो खुला बजार पुँजीवाद न त राज्यनियन्त्रित समाजवादबाट नै सम्भव छ। त्यसनिम्ति हामीले विगत सय बर्षका सकारात्मक र नकारात्मक अनुभव र पछिल्लो विकसित ज्ञानविज्ञानमा आधारित नयाँ विचार-राजनीतिको विकास गर्नैपर्दछ।हामीले

अहिले सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको नयाँ मोडेलको विकास गर्ने प्रयत्न गर्नुको मर्म त्यही हो।

त्यसै क्रममा हामीले बुद्धको आत्मिकी, मार्क्सको सामाजिकी-आर्थिकी, डार्बिनको जैविकी र आइन्सटाइन-प्लांकको भौतिकीलाई प्रश्थानविन्दु मानेर नयाँ युगको नयाँ आवस्यकता पूरा गर्ने नयाँ विचार विकास गर्ने प्रयत्न गरेका हौं। यो अहिले अत्यन्त प्रारम्भिक चरणमा छ र यसमा हामीले अझै धेरै मेहनत गर्नु छ।

यो त विश्वस्तरको र दूरगामी महत्वको प्रश्न भयो! जसको नेपालनिम्ति पनि सान्दर्भिकता छ।

दोश्रो, नेपालको वर्तमान इतिहासको विकासको चरणबाट हेर्दा बिषयवस्तु झन् बढी जटील छ।बाँकी विश्व चौथो औद्योगिक क्रान्तिका अन्तर्विरोधहरूको समाधान गर्न उद्यत छ भने भर्खर सामन्तवादको अन्त्य गरेर पुँजीवादी गणतन्त्रमा प्रवेश गरेको नेपालमा पहिलो औद्योगिक क्रान्ति गर्ने चुनौति छ।

साथै हामीलाई चारवटै औद्योगिक क्रान्ति एकैसाथ गर्नुपर्ने वाध्यता पनि छ।

यसैकानिम्ति हामीले ५ स को अवधारणा अघि सारेका हौं। ती सबै एक अर्कासंग अन्तर्सम्बन्धित छन्।तीमध्ये ‘समुन्नत समाजवाद’ अन्तिम लक्ष्य वा साध्य वा गन्तव्य हो।’समतामूलक समृद्धि’ त्यहाँसम्म पुग्ने मार्ग वा विधि हो।

अरू तीन अर्थात् ‘समावेसी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र’, ‘ सुशासन/सदाचार’ र ‘स्वाधीनता/सार्वभौमिकता’ समृद्धि प्राप्त गर्ने र समुन्नत समाजवादमा पुग्ने आधार वा माध्यम हुन्!

यो नेपालमा नयाँ ढंगको क्रान्ति गर्ने र क्रान्तिलाई निरन्तरता दिने नितान्त नयाँ कार्यदिशा हो। यसलाई सग्रतामा नबुझ्ने र दृष्टिविहीनले हात्तीलाई गलत ढंगले बुझ्ने नीतिकथा झैं केही मानिसहरू आआफ्नो बुझाइ अनुरूप नपाए पछि नयाँ शक्ति अभियानबाट पलायन भएका छन्। त्यो स्वाभाविक प्रक्रिया पनि हो।

विडम्बना के भएको छ भने जनयुद्ध, मधेसी/थारू/जनजाति आन्दोलनबाट थाकेकाहरू अब ध्रुवीकरण वा आवश्यकताको नाउँमा पुरानै यथास्थितिवादी एमाले र कांग्रेसमा विलीन हुने दौडमा छन्।

चिन्तन र ज्यानमा निरन्तर क्रान्तिको झिल्को निभिसकेका र खरानीको थुप्रो मात्र बाँकिरहेकाहरू ‘बहादुरीपूर्बक’ पछि हट्दैछन् र एमालेमा विलयलाई ठुलो पौरखको रूपमा नगरा बजाइरहेछन् ।

हामी नयाँ चरणको समतामूलक समृद्धिको बाटो हुँदै समुन्नत समाजवाद तर्फको लामो यात्रामा लामबद्ध भएकाहरू Pilgrim’s Progress मा झैं कदम कदम गर्दै अघि बढ्दैछौं! निरन्तर अघि बढिरहनेछौं।

डा.बाबुराम भट्टराईको फेसवुकबाट । हाल उनी इन्डोनेशिया भ्रमणमा छन् ।

साभार:रातोपाटीबाट

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com