logo

यस्तो छ, नेवार युवतीका चार विवाह

Mar 24, 2018

सपना महर्जन

‘ओइ केटी तँ कहिले बिहे गर्ने ? ‘

‘दुइटा बिहे अलरेडी भइसक्यो, अब अर्को बिहे विस्तारै गरौंला’, मैले ठट्यौली पारामा भनेँ।

‘के भन्छे यो ? ‘

‘साँच्चै हो के, एकचोटि बेलसँग, दोस्रोचोटि सूर्यसँग।’

मेरी ब्राह्मणी साथी खित्का छाडेर हाँसी।

नेवार समुदायमा छोरीको रजस्वला हुनुभन्दा पहिले नै बेल (इहि) र सूर्य

(बारातेउ) विवाह गराइन्छ। सूर्य विवाहभन्दा अघि गन्धर्व विवाह पनि हुन्छ तर त्यो बन्दकोठाभित्र हुन्छ। त्यसैले उक्त विवाह अरूले देख्न पाउँदैनन्। यो विवाहबारे सार्वजनिक बहस पनि छैन। यस यथार्थको पुष्टि ऋग्वेद अध्ययनमा पाइन्छ। (ऋग्वेद मं.१० सूक्त, ८५ श्लोक ४०-४१, अथर्ववेद चतुर्दशं काण्डम् द्वितीयोनुवाक)। नेवार समुदायका छोरीहरूको बेल (इहि) विवाह परम्पराले महिला अधिकारको हनन् होइन, सुनिश्चितता गर्छ। यो विवाहपछि पनि उनीहरूले जन्मघर त्याग्नु पर्दैन।

चार विवाहको प्रसंग

महाभारत उद्योगपर्व, अध्याय ११५-११९ को अत्रि संहितामा स्त्रीहरूको चार विवाह हुने कुरा वर्णित छ। उक्त संहिताअनुसार स्त्रीको विवाह सोम, गन्धर्व, अग्नि पछि बल्ल मनुष्यसँग हुन्छ। अघिल्ला तीन विवाह देव विवाह हुन्। देवसँगको विवाहपछि मात्र मानिससँग विवाह हुने भएकाले महिला कहिल्यै अपवित्र र दूषित नहुने धर्मशास्त्रले बताउँछ। नेवार समुदायमा छोरीको चारपटक नै विवाह हुन्छ। यी चारै विवाह कन्यादानको एक विधि हो। अघिल्लो तीन विवाहसम्म दानको रूपमा जन्मघर त्याग्नु पर्दैन तर चौथोपटक पुरुषसँगको विवाहमा स्त्रीको कन्यादान हुन्छ।

यसको मतलब छोरी परायाको हातमा सदाका लागि सुम्पनु हो। तर, नेवारी प्रचलनमा चौथोपटक पुरुषसँगको विवाहमा कन्यादान गरिँदैन। अर्थात् छोरीलाई विवाहमा गैरनेवारी परम्परामा जस्तो ‘पाले पुण्य मारे पाप’ भन्दै परपुरुषको हातमा दिने चलन छैन। अग्निसँग पहिले नै विवाहबन्धनमा बाँधिएकाले जग्गेमा अग्नि साक्षी राखी विवाह धर्म निभाउने वचन पनि लिइँदैन।

संस्कृतिविद् हरिराम जोशीको एउटा किताब छ, ‘कन्या दान ः नारी जातिको लागि अभिशाप।’ जोशी भन्छन्, ‘कन्यादान गर्नु भनेकै अरूको जिम्मा लगाउनु हो। जसले दान लिन्छ, उसले त्यस चीजको जसरी नि उपभोग गर्छ। त्यसैले अधिकार नै माग्नु छ भने विवाह पछि श्रीमान्को घर जानु नपरोस् भनी माग्नु।’ नेवार संस्कृतिमा बेल विवाह र सूर्य विवाहले नारीलाई यही अधिकार प्रदान गरेको छ।

हरितालिका तीज व्रतको आख्यानमा नागराज हिमालयले आफ्नी छोरी पार्वतीको विवाह वैकुन्ठाधिपत्ति भगवान् श्री विष्णुसित गरिदिन लाग्दा पार्वती घरबाट भागेर जंगलको एक गुफामा गई महादेवलाई स्वामीको रूपमा प्राप्त गर्न तपस्या गरिन् र उनको विवाहमा महादेवसँग भयो। नेवार समाजमा बेलसँगको विवाह भन्नाले बाबुआमाले जिम्मा लगाइदिन लागेको सुवर्ण कुमारको त्याग (कन्या दान हुन नचाहनु) हो र आफूले मन पराएको महादेवसँगको विवाह (आफ्नो प्रेमको प्राप्ति) हो। अर्थात् वैदिक युगमा नारीले आफ्नो अधिकारका लागि उठाएको अहम् मुद्दा, बेथिति माथिको जित, कन्यादान अस्वीकार गर्ने एक महान् क्रान्ति, एक सांस्कृतिक क्रान्ति : बेलविवाह।

श्रीमानको महत्व गौण

कहिल्यै नसुक्ने बेल (स्वमेश्वर), कला, नृत्य र खेलमा निपूर्ण बनाउने गन्धर्व (कलादेव) र कहिल्यै नअस्ताउने सूर्य (अग्निदेव) संगको विवाहले पूर्ववत् रूपमा नै नेवार समुदायका महिलाको पतिव्रता र सौभाग्य सुनिश्चित गरेको छ। चौथोपटक कुनै पुरुषसँग गरिएको विवाहबाट नेवारी महिलाको जीवनमा श्रीमानको महत्व गौण देखिन्छ। अर्थात् नेवारी संस्कारअनुसार बेल विवाह, गन्धर्व विवाह र सूर्य विवाहपछि पुरुषसँगको विवाह बच्चा जन्माउन मात्र आवश्यक ठानिएको छ। महिला अस्तित्वको सवालमा धर्म, चेतना र प्रकृतिको यति राम्रो संयोजन साँच्चै मनन गर्नलायक छ।

केही समयअगाडि बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘पुरुषको आवश्यकता बच्चा जन्माउन मात्र हो’ भन्ने अभिव्यक्ति दिँदा उनी सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिन् तर नेवार समुदायले यो तथ्यलाई शताब्दीदेखि अभ्यास गर्दै आएको छ।

नेवारी महिलाहरू पाँचसात वर्षमै गरिएको बेलसँग विवाहपछि सिन्दूर लाउन थाल्छन्। पछि पुरुषसँगको विवाहमा श्रीमान्को मृत्यु भए पनि ती महिलाले सिन्दूर लगाउन पाउँछिन्। नेवार समुदायको बाहुल्य रहेको समाजका हरेक चाडपर्वमा सबै नेवारी महिलालाई रातो लुगामा सजिएको देखिनुको कारण यही हो।

साथै नेवारी महिलालाई शृंगार र रातो रङ छोड्नु नपर्ने अधिकार पनि धर्मले दिएको छ। किनकि नेवार संस्कृतिअनुसार अघिल्लो तीन पटकसम्मको विवाह देव विवाह अर्थात् देवतासँगको विवाह हो। देव विवाहपछि ती विवाहित नारी पनि देवी बन्छिन्। नेवारी संस्कृतिमा वृद्ध आमाबुवाको जंकु गर्ने चलन पनि छ। यसबाट उनीहरू जिउँदै भगवान् बन्छन्। जंकु गरेकाले बुढेसकालमा पतिको मृत्यु भए पनि परिवारबाट अपहेलित हुनु पर्दैन।

जन्मघरसँगको अधिकार

हिन्दू संस्कारअनुसार हामी वयस्क भएपछि कुनै पुरुषसँग विवाह गर्छौं र जन्मघर त्याग्छौं। जन्मघरलाई माइतीघर भन्छौं र श्रीमान्को घरलाई आफ्नो घर। तर, नेवारी संस्कृतिले महिलालाई यो बन्धनबाट पनि मुक्त गरिदिएको छ। विवाहपछि उनीहरू जन्म घरलाई थछेँ (मेरो घर) भन्छन् र श्रीमान्को घरलाई छेँ (घर) मात्र भन्छन्। विवाहपछि पनि नेवार समुदायका महिलालाई आफ्नो बुवाआमा पाल्ने कर्तव्यबाट वञ्चित गराइँदैन। छोरीले बुवाआमा पाल्न चाहेको खण्डमा जन्मघरमाथिको स्वामित्व छोरीको हातमा जान्छ। यही कारण नै नेवार परिवारमा फुपू (निनी) को भूमिका अहम् रहन्छ। उसको भूमिका छोरी, दिदी, बहिनी, नन्द हुँदै फुपू र दिदीफुपू हुँदासम्म पनि प्रभावशाली रहन्छ।

महिलाले विवाहपछि आफ्नो श्रीमान् र उसको परिवारलाई नै सब थोक ठान्छन्। तर, कुन हदसम्म ? विवाहित नेवार समुदायका महिलाले आफ्नो पतिको लामो आयु माग्दै निराहार व्रत बस्ने चलन छैन। श्रीमान्को गोडा धोएको पानी खाने चलन पनि छैन। केही वर्षयता देखासिकीमा तीजको व्रत बस्न थालेका छन्। तर, यसको आवश्यकता नेवारी धर्मशास्त्रले देखाउँदैन। किनकि बेल विवाह र सूर्य विवाह गरेका महिलाले सौभाग्यका लागि लिइने तीजको व्रत बस्नु आवश्यक छैन।

बलिउड अभिनेत्री प्रियंका चोपडाले ‘पुरुषको आवश्यकता बच्चा जन्माउन मात्र हो’ भन्ने अभिव्यक्ति दिँदा उनी सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिन्। तर, नेवार समुदायले यो तथ्यलाई शताब्दीदेखि अभ्यास गर्दै आएको छ।

नेवार समुदायमा सम्बन्धविच्छेद गर्दा पनि महिला अधिकार सुनिश्चित गरिएको छ। बिहेको अघिल्लो दिनसम्म पनि महिलाले विवाह गर्न नचाहेमा केटाको घरबाट आएको सगुनको सुपारी फिर्ता पठाएमा विवाह रोकिन्छ। यसमा कसैले प्रश्न गर्दैनन्। यसका अलावा विवाहपछि पनि पत्नीले आफ्नो पतिलाई सुपारी (ग्वय) फिर्ता दिएमा स्वतः सम्बन्धविच्छेद हुन्छ।

पति जीवित अवस्थामा मात्र होइन, जीवनको अन्तिम घडीमा, पतिको मृत्युपछि शवयात्राकै समयमा वा दाहसंस्कारपछि पनि सुपारी फिर्ता दिएर पत्नी पतिबाट मुक्त हुन सकिने व्यवस्था छ। यो व्यवस्थाबाट ती महिलाले एक्लै जीवनयापन गर्ने कि अर्को पुरुषसँग विवाह गर्ने भन्ने निर्णय लिने स्वतन्त्रता छ।

अधिकारमा समानता

अचेल नेवार महिलाले गैरनेवारको विधवा रीति र एकल महिलाको मान्यतालाई अँगालेका छन्। तर, महिलाको जीवनशैली सहज बनाउन नेवार समाजभित्र बाह्य प्रभावलाई निषेध गरी बालविवाह र विधवा दुवैलाई मान्यता नदिन ‘इहि’ संस्कार चलाइएको हो। त्रिविका संस्कृतिविद मदनकुमार रिमाल भन्छन्, ‘मध्यकालमा नेवार पुरुषहरू व्यापारको सिलसिलामा विभिन्न स्थानमा जान्थे। यसले घर र खेतबारीमा महिलाको स्वामित्व बढ्यो। धार्मिक ग्रन्थ पढेर त्यसका कुरा लागू गर्ने क्षेत्रमा पनि उनीहरू अग्रसर रहे। यस हिसाबले अधिकारको सवालमा नेवारी महिलाले आफ्नो दायरा आफैं खुकुलो पारे।’

विश्लेषक राजेन्द्र महर्जनको विचार भने केही फरक छ। उनी भन्छन्, ‘नेवारी महिला पनि सोलोडोलो एकै प्रकारका छैनन्। हिन्दु धर्म मान्ने नेवार महिला हिन्दु संस्कृतिमा धेरै बाँधिएका छन् भने बौद्ध धर्ममा अलिक फुक्का छ। तर पनि पुरुष सँगसँगै काम गर्न महिलाको अधिकार र हैसियत कम छैन।’ उनका अनुसार पहिलेदेखि सम्पत्तिमा अधिकार कम भए पनि बौद्ध धर्ममा महिलालाई बढी अधिकार छ। उनीहरूले पारिवारिक निर्णयमा समेत हस्तक्षेप गर्न सक्छन्।

महिला अधिकारलाई संकुचित बनाउने प्रचलनमा नेवार समुदायले बुद्धिमतापूर्वक अंकुश लगाएको छ। यहाँसम्म कि नाक छेडेर लगाइने फुली अर्थात् नत्थी लगाउन बन्देज छ, जसलाई आज आधुनिक फेसन मानिन्छ। पहिले अपराधी, दासदासी र पशुलाई नत्थी लगाएर देश घुमाउने चलन थियो। यस्तो दासताबाट नारीलाई मुक्त गर्न नत्थी चलन त्यागिएको भनाइ छ। ब्राह्मण समुदायमा महिलाको पहिलो रजस्वलाको बेला उनलाई गोठमा पशुसरह राख्ने चलन थियो। पछि चोख्याउने नाममा नाकमा प्वाल पारी सुनको नत्थी लगाइयो। यसको मतलब उक्त महिला अब पशुसरह भइन्। घरको कामकाज गर्न दिनहुँ नुहाएर सुनपानी छर्केर चोखो बन्नुपर्ने प्रचलन ल्याइयो। यो परम्परा नेवार समुदायमा छैन।

यसरी नेवार महिलालाई धर्म र संस्कृतिले नै अधिकार दिएको छ। यसका लागि महिला अधिकारको छुट्टै लडाइँ उनीहरूलाई आवश्यक छैन। कतिपय धर्म परम्परा आज गलत साबित भइसके तर कुनै समुदायको धर्म संस्कार अझै पनि विज्ञानसम्मत छ। नेवार महिलाका उदाहरणसँगै धर्म माथिको सही व्याख्या खोज्नु आजको आवश्यकता हो।  यो समाचार हामीले अन्नपुर्ण पोस्ट बाट लिएका हौ |

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com