logo

माया प्रेम भनेको के हो , पुरा पढ्नुहोस

Apr 09, 2019

विदेशी भूमि : एक्स–गर्लफ्रेण्ड…

चुइगम जस्तै हो भन्छन् सुरुमा मिठो चपाउदै जादा स्वाद न व्यादको । तर मेरो जीवनमा मायाको मिठो स्वाद भन्दा केही बस्न सकेन । मायाले दिएको पिडा पनि मेरो लागि गुलियो जेरी जस्तै भएको थियो । कुरा स्नातक पढ्ने बेला तिरको हो । स्नातकको पढाइ सकेर काठमाडौँमा भौतारिएर हिडिरहेको थिए, घरबाट फोन आयो, ‘छोरा अब त विवाह गर्नुपर्छ ।’

ब्राह्मण परिवारको भएकाले पनि बुबाआमाको सोचाइ मिल्ने जातकै केटी विवाह गर्दिए हुन्थ्यो भन्ने थियो । काठमाडौँ बसेर पढ्न थालेको गरिब ५ वर्ष हुन लागिसकेको थियो । घरपरिवारको इच्छा के थियो, थाहा भएन । तर मैले जागिरे जीवन बिताउँदै बिताइनँ । मध्यमस्तरको परिवारको छोरा भएकाले पनि होला त्यसको आवश्यकता महसुस गर्नुपरेन । मनमा एउटा जागिर खान पाए घरमा पैसा माग्नुपर्ने थिएन भन्ने चाहिँ लागिरहेको हुन्थ्यो । सोही होडमा भेट भएको थियो, इन्दू थापा (नाम परिवर्तन) सँग ।

इन्दू क्षत्री परिवारकी थिइन्, म कट्टर बाहुन परिवारको । हामीबीचको भेट बारम्बार बाक्लिँदै गएको थियो । भेट मात्र होइन, सम्बन्ध पनि बाक्लिँदै गएको थियो । सुरुमा साथीको रुपमा भेटिएका हामी जीवनसाथीको कल्पना सम्म गर्न थालेका थियौँ । एउटै कार्यालयमा काम गर्दागर्दै उनको अर्कै एनजिओमा नाम निस्केको थियो । उसको राम्रो जागिर भएको खुशी एकातिर थियो भने अब छुट्टीनु पर्छ भन्ने कुराले दिएको पिडाबोध अर्को तिर थियो ।

हामी भौतिक रुपले छुट्टिनुपर्ने अवस्था सृजना भयो । त्यति नै बेला घरबाट विवाहसँगै विदेशको लागि प्रेसर आइरहेको थियो । यता इन्दू विदेश जानुको विरोधी भएर निस्किएकी थिइन् । म दुई ढुङ्गाको बीचको तरुलजस्तो भएको थिएँ । एकातिर परिवार र अर्कोतिर प्रेमिका । उनले न विवाहको लागि नै सकारात्मक कुरा गर्थिन्, न त विदेशका लागि । घरबाट प्रेसर आउने क्रम रोकिएको थिएन । सोही समयमा उनले कडा जवाफ पठाइन्, ‘यदि विवाह वा विदेशका लागि हतारो छ भने गर्दा हुन्छ ।’

उनलाई कति धेरै सम्झाउने कोसिस गरेँ, तर उनले मान्दै मानिननु । पछि त फोन उठाउन समेत छाडिन् । उनी त्यो समयमा प्लस टु सकेर ब्याचलर पढ्ने तयारीमा थिइन् । हुन त उनले आफ्नो अपरिपक्वतालाई बुझेर पनि सो निर्णय गरेकी हुन सक्छिन् । म भने ३ वर्ष थप उनको पर्खाइमा बसेँ । उनको मन ढुङ्गाजस्तो बनेर निस्कियो । उनी म र मेरो मायाप्रति फर्किँदै फर्किनन् त्यसपछि ।

कोरियाका लागि स्टडी भिसा लागिसकेको थियो मेरो । उनकी आमालाई समेत फोन गरेँ तर उनीसँग सम्पर्क हुनै सकेन ।

मेरो घर परिवारबाट विवाहको फिक्स भइसकेको थियो, तर मेरो मनले फिक्स गर्न सकिरहेकको थिएन । एकचोटि इन्दूसँग कुरा गर्न पाए मात्र हुन्थ्यो भन्ने सोच मेरो थियो । तर उनको फेसबुकमा म ब्लक लिष्टमा थिए, नम्बर चेन्ज भइसकेको थियो । उनको साथीबाट खबर पाउथे उनी धेरै प्रगति भइसकेको छ । ३ वर्षसम्म सम्पर्क गर्न खोजेको उनलाई मेरो ३ दिनले के सामथ्र्य राख्थ्यो ! र पनि कोसिसमा नै थिएँ ।

उनको अगाडि नमज्जाले पछारिएँ म । जीवनमा कहिले पनि हरेस नखाएको मैले एकैपटक हरेस खाएँ । जीवनमा कैयौँ यात्रा गरेको मैले कहिल्यै लडेको याद छैन । तर एकैपटक ठूलो भीरबाट लडेको फिल भएको थियो । सम्पूर्ण परिवार विवाहको रमझममा तामझामका साथ लागिरहँदा मेरो रोदन कसैले देख्ने कुरै भएन ।

बुबा खुसी हुनुहुन्थ्यो, छोरोले परिवारकै रोजाइकी केटी बिहे गर्यो भनेर । सबै आफन्त खुसी हुँदा त्यतिबेला मलाई लाग्यो– संसारको सबैभन्दा दुखी मान्छे मै होला । विवाह धुमधामका साथ पूरा भयो । सबैजना खुसी थिए । मेरी श्रीमती पनि खुसी देखिइन् । अब त उनको खुसीकै लागि भए पनि मैले खुसी बन्नुपर्छ भन्ने मानसिकताले पोल्यो । खुुसी हुन खोजेँ, भित्र रोएको भए पनि बाहिर हाँसीखुसी देखिएँ ।

विवाह पूरा भएको पाँचौ दिन, मेरो मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो । श्रीमती र म ससुरालीबाट फर्कँदै थियौँ । म गाडीको टिकट लिनलाई हिडिरहेको थिएँ । ‘हेलो’ भन्नासाथ उताबाट आवाज आयो, ‘आभाष ! कता हो ?’ ३ वर्षदेखि सुन्न चाहेको आवाज थियो, त्यो । तर त्यतिबेला बेमौसमी तितेकरेलाझैँ तितो लाग्यो ।

‘चिन्यौ ? म इन्दू ।’ उनले त्यति भन्नेबित्तिकै मलाई यताबाट चिच्याई–चिच्याई भन्न मन थियो, जिउँदो मारेर पुगेन ? फेरि केका लागि फोन गर्याै ?’ तर म मा पनि त्यति साह्रो हिम्मत कहाँ थियो र ?

उनी भन्दै थिइन्, ‘मैले तिमीले देखेको सपना पूरा गरेर नै छाडेँ । म अब १ महिनापछि कोरिया जाँदै छु, तिमी मसँग जान्छौ नि ?’ यति सुन्दा मेरा आँखा रसाएर आए । २०७२ सालको भूकम्प पुनः मेरो मनलाई मात्र भग्नावशेष बनाउनेगरी आएजस्तो महसुस भयो ।

मुटु दह्रो बनाएरै भए पनि जवाफ फर्काएँ, ‘इन्दू मैले बिहे गरे । आज ५ दिन मात्र भयो । मेरो पनि कोरियाको भिसा लागिसकेको छ । मेरो यति जवाफ सुन्नासाथ उताबाट फोन काटियो ।

दिन बिते, हप्ता बिते । महिना बित्न केही समय लागेन । ससुरालीबाट फर्किँदा आएको त्यो अपरिचित नम्बरको फोन फेरि दोहोरिएर आउँछ कि भन्ने सोचेको थिएँ । तर त्यो पनि कहिल्यै आएन । मेरो कोरिया जाने दिन आयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइको लागि आफन्तसँगै मेरी श्रीमती पनि पुगिन् । विदेश जाने जमात ठूलै थियो । कति परिचित र कति अपरिचित । आँखा डुल्दै जाँदा एउटा परिचित अनुहारमा गएर आँखा पुनः टक्क अडिए । सम्झना रहिछे, हामी पहिला सँगै काम गरेका थियौँ । मलाई देखेपछि ऊ टाढाबाटै मुस्कुराउँदै आई ।

हालखबर सोधी । कुराकै शिलशिलामा मैले पनि सोध्न भ्याएँ, ‘कसलाई पुर्याउन आएको ?’ उसले अच्चमित हुँदै भनी, ‘ल थाहा छैन ? इन्दूको आजको फ्लाइट छ ।’ अब देखेँ भने पनि कर्के नजरले पनि हेर्दिनँ भन्ने मानसिकता आइसकेको मलाई । किनकिन एकचोटि टाढै बसेर भए पनि हेर्न मन लाग्यो । सोधँे, ‘कहाँ छिन् इन्दू ?’ सम्झनाले इन्दूलाई औँल्याइन् । परैबाट हेरेँ– नजिक जानको लागि मभित्र हिम्मत दरिलो भएको थिएन् ।

आँखा रातोरातो बनाएकी थिई इन्दूले । हल्का मोटाएकी रैछे मोरी । अब कतै भेट नहोस् भन्ने सोच्दै आफन्तलाई हात हल्लाएर मन भारी बनाउँदै विमानस्थलभित्र प्रवेश गरेँ । धन्न एउटै प्लेन परेनछ, मनमनै सोचेँ । फेरि अर्को मनले सोचेँ– म कस्तो मान्छे, कम्तीमा बोल्नु त पथ्र्यो । आफ्नै निर्णयको कारण छट्पटाउन थालेँ । मन–मनबीचको द्वन्द्वको कारण पेट पोल्नुसम्म पोल्यो ।

यही काठमाडौँको विशालबजारमा जाँदा त हराउछु भनी सोच्ने बिचरी यो विमानस्थलको झन्झट कसरी पार गर्छे होला इन्दूले ! सोच्दासोच्दै निदाएछु । १० घण्टाको हवाई यात्रापछि कोरिया पुगियो । तर रित्तो भएर । सँगै जाने साथीहरु पनि थिए, उनीहरु फोटो खिच्नतर्फ लागे । म भने एउटा बालकजस्तै बनेँ । साथीहरु सँगै होस्टेल पुगे । ३ दिनपछि कक्षा सुरु हुनेवाला थियो । पहिलो दिनको कक्षा समयमा नै जानुपर्छ भनेर केटाहरु तयार भए । म पछि छिट्टै गरेर हिडँे । कक्षामा धेरै नेपाली साथीहरु थिए । मन ढुक्क भयो ।

कोरिया आएको पनि एक महिना बित्यो । घरमा पनि राम्रै कुरा हुन्थ्यो । एउटा घायल मान्छे कोरियामा आएर फसेको छ भन्ने महसुस भयो । मेरो विवाहको खबर पाएपछि किन हो, इन्दूले कुनै माध्यम प्रयोग गरेर मलाई सम्झने कोसिस गरिन् । सायद उनले मेरो कमजोर मनोविज्ञानलाई बुझेकी पो थिइन् कि ?

एक दिन विगतको सम्झना आइरहेको थियो, त्यति नै बेला फेसबुकको नयाँ आइडी बनाएँ । थापा इन्दू भन्ने फेसबुकमा इक्वेस्ट पठाएँ । उताबाट एसेप्ट भयो । मन फुरुङ्ग भयो, मानौँ कि एउटा बालकले आमासँग मागेको कुरा पूरा भएको छ ।

‘हेलो’ उताबाटै म्यासेज आयो । कुराकानी सुरु भयो । उनी बस्ने शहर र मेरो दुरी १५ मिनेटको रैछ । छुट्टीको दिने भेट्ने कुरा भयो । ४ दिन बाँकी थियो छुट्टी आउन । तर मलाई त्यो समय ४ वर्ष भन्दा पनि लामो लाग्यो । भेट हुने अघिल्लो रातभर मनमा लाग्यो– आएपछि के भन्लिन् उनले ? देख्नेबित्तिकै अँगालोमा आउलिन् वा नमस्कार पो भन्ने हो कि ? एक्लै आउलिन् कि साथीसँग ? रात छट्पटीमा नै बित्यो । बिहान भयो । नुहाइधुवाई सकेर उनलाई फोन हानेँ । उनी पनि तयार भइसकेकी रहेछिन् ।

म लागेँ इन्दू बस्ने शहरतिर । जाँदै गर्दा फेसबुक खोलेँ । खासमा श्रीमतीलाई आज अनलाइन आउन नपाउने जानकारी गराउनको लागि । म्यासेन्जर खोल्न खोजेको थिएँ, भुलवश फेसबुक खोलिएछ । ‘इन्दू थापा अपडेट हर स्टाटस’ भन्ने देखायो । एक शब्द नछुट्टाएर पढेँ । लेखेकी थिइन्– ‘असम्भव सपनालाई भेट्न जाँदै छु, त्यो पनि रित्तो भएर । भगवान हिम्मत देऊ ।’

मेरो मन झन पोल्न थाल्यो । नभन्दै १० मिनेटपछि उनको र मेरो भेट भयो । नेपालमा देखेको भन्दा दुब्लाएकी रहिछन् । कस्तो नसुहाएको ! मलाई देख्नेबित्तिकै मुस्कुराइन् । म पनि कोरिया आएको महिनादिनपछि आज पहिलोपल्ट मुस्कुराएँ । पार्कमा बसेर उनको विगत खोतलेँ । उनले मसँग टाढा हुँदाको विवशता सबै खोलिन् । मैले बिहे गर्नु भन्दा पहिले उनीसँग भेट्नलाई गरेको प्रयासको विषयमा जवाफ मागे । बिचरा ! उनलाई थाहा समेत रहेनछ, उनका आफन्तसँग भएका कुराका विषयमा ।

कमजोर मुटु हामी दुवैको थियो । सम्भावित आउने आँसु सम्झेर गोजीमा टिस्यू पेपर बोकेर गएको थिएँ । तर उनले त्यो परिस्थिति निम्तिन दिइनन् । सायद उनी पनि मजस्तै धेरै रोएर मन दरिलो बनाएर आएकी थिइन् होला ।

होस्टेलमा केटाहरुलाई एक्स्–गर्लफेण्डलाई भेट्न जान्छु भन्दा जिस्काउनुसम्म जिस्काएका थिए । तर उनलाई समयले धेरै व्यावहारिक बनाइसकेको रहेछ । उनको मन त्यो कोरियाको नदीभन्दा पनि फराकिलो भएर निस्कियो । लगभग पाँच घण्टा बितेछन् कुराकानीमै । उनले मनको बाँधलाई टुट्न दिइनन्, बोल्दा पनि बिझाउने हो कि भनेजसरी शब्द जोख्दै बोलिरहेकी थिइन् ।

समय घर्किन लागेकाले उनी ‘जाम्’ भन्दै उठिन् । र, भनिन्– ‘यो हाम्रो अन्तिम भेट हुनेछ ।’

मैले किन भन्ने प्रश्न गर्दा यति मात्र भनिन्, ‘मसँगको सामिप्यमा आफ्नी श्रीमतीसँगको दुरी बढ्यो भने एउटी नारीले ठूलो अन्याय भोग्नुपर्नेछ । म त्यो अन्याय गर्न चाहन्नँ । जति अरु मानिसको मानसिकता छ– विदेशमा एक्स–गर्लफ्रेण्ड भनेपछि सहयोग र सामिप्यको लागि नजिक हुन चाहन्छन् भन्छन् ।’ म छक्क पर्छु, उनमा त्यो कुभावना बिलकुल थिएन । उनमा हिनताबोध मात्र थियो । नारीत्व थियो ।

सातवर्षे कोरिया बसाईमा इन्दूसँग त्यसपछि कहिल्यै भेट भएन । फेसबुकमा पठाएको म्यासेजको रिप्लाई यत्ति आउथ्यो, ‘यो समयमा आफ्नी श्रीमतीलाई दिनुस् त, उनी कति खुसी हुन्छिन् बिचरी !’

कृष्णा कुमारी चौलागाई

यो लेख तामांग अनलाईनमा छ |

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 BBCE.com

Designed byappharu.com